Blog

बायोचार एक विकल्प

ङमिन्द्र दाहाल
देशमा आपूर्ति व्यवस्थामा आएको अवरोधसँगै ऊर्जा संकट सबैभन्दा अग्रपंक्तिमा देखापरेको छ । विगतमा परनिर्भरतालाई प्राथमिकतामा राख्दा देशले अहिलेको भयावह अवस्था भोग्नुपरेको हो भन्नेमा कसैको विमति नरहन सक्छ । सतहमा देखिएको संकटको पहिलो स्थान ऊर्जाले लिए पनि आगामी दिन खाद्य सुरक्षाका कारण झनै ठूलो संकट पैदा हुनेछ । त्यतिखेर तताउने इन्धनभन्दा पकाउने वस्तुको अभावमा झनै समस्या झेल्नुपर्नेछ । आफैँ सक्षम हुनु नै सबै समस्याको समाधान हो । त्यसैले खाद्य सुरक्षामा सहयोगी हुने उपायबारे यहाँ चर्चा गरिएको छ ।
हालसालै केही मध्यपहाडी गाउँबस्तीमा बायोचार बनाउँदै गाई–भैंसीलाई कुँडो पकाउन मिल्ने चुलोको प्रयोगात्मक परीक्षण सम्पन्न भएको छ । यो नयाँ प्रविधिको चुलो परीक्षणको खास उद्देश्य बायोचार बनाउन प्रोत्साहन गर्ने र उत्पादित बायोचारको प्रयोग गरेर विपन्न किसानको कृषि उत्पादन दर बढाउन टेवा पु¥याउने हो । विश्वका अन्य मुलुकमा कृषि भूमिमा मलखादसँगै बायोचार पनि प्रयोग गर्ने परम्परा बसिसकेको भए पनि नेपालमा यसको प्रयोग र परीक्षण गर्न थालेको केही वर्ष मात्र हुँदैछ ।
के हो बायोचार ?
गाउँबस्ती वरपर खेरजाने झारपात, धानको खस्रो भुस, काठको धुलो र कफी प्रशोधन गर्दा निस्कने बोक्रा र भुसलाई खरो हुनेगरी पोलेर बायोचार बन्छ । पोल्दा हावा नपस्ने गरी बन्द भाँडोमा यस्ता कच्चा पदार्थ राखेर आगो लगाइन्छ । राम्रोसँग खारिएपछि यी पदार्थ गोल वा कोइलाको धुलोजस्तै कालो बन्छन् । यसरी खारिएको धुलो आगोले जलेर खरानी बनाइदिने प्रबल सम्भावना हुने हुँदा विशेष सावधानी अपनाएर मात्र बायोचार बनाउन सकिन्छ । बायोचारको उपयोग धेरै प्रयोजनमा हुने गरेको भए पनि मूलतः माटोको गुणस्तर सुधार गर्न खेतबारीमा प्रयोग गर्ने उद्देश्यले यसको उत्पादन हुने गरेको छ । यसर्थ बायोचार भन्नाले खेर जाने जैविक पदार्थलाई गोल वा कोइलाजस्तो बनाई माटोको उर्वराशक्ति बढाउन प्रयोग गरिने पदार्थलाई जनाउँछ । बायोचार बनाउँदा कच्चा पदार्थको प्रकार, पोल्ने वा ख¥याउने विधि र तापक्रमको मात्राले यसको गुणस्तर निर्धारण गर्ने हुनाले घरेलुस्तरमा बनाइने बायोचार खेपैपिच्छे फरक गुण भएको हुनसक्छ । माटोको गुणस्तर सुधार गर्न सामान्यतः जुनसुकै विधिले तयार गरेको बायोचार पनि उत्तिकै प्रभावकारी हुने हुँदा यसमा चिन्ता लिनु पर्दैन । बायोचारले माटोको गुणस्तर सुधार गर्न उत्प्रेरकको भूमिका खेल्छ तर यो मल होइन र मलले गर्ने काम यसले गर्दैन । एकपटक हालेको बायोचारले दशकौंसम्म काम गरिरहने हुनाले मलजस्तो बर्सेनि हाल्नुपर्दैन ।
बायोचार नै किन चाहिन्छ  ?
बायोचार माटोमा गलेर वा सडेर जाँदैन, एकैपटक वा अलिअलि गरेर मात्रा पुग्ने गरी हालेपछि त्यसले क्रमशः माटोलाई खुकुलो, ओसिलो र अल्कालाइन बनाइराख्न भूमिका खेल्दै जान्छ । माटोको अम्लीयपन हटाउन यो विशेष प्रभावकारी सावित भएको छ । बायोचारसँगै यसको कच्चा पदार्थमा रहेका पोषक तŒव र सूक्ष्म तŒव पनि माटोमा जाने हुनाले प्रयोगपछि लगत्तै लगाइने बाली उत्पादनमा यसको असर उल्लेख्य देख्न सकिन्छ ।
नेपालको पहाडी क्षेत्रमा अधिकांश खेतबारीको माटो अत्यधिक अम्लीय र सुक्खापनको समस्याले ग्रस्त छ । माटोमा हुनैपर्ने न्यूनतम प्रांगारिक पदार्थको कमीले मल र पानीले मात्र राम्रो उत्पादन हुन नसक्ने प्रष्ट भइसकेको छ ।नेपालका कृषि मन्त्रालय र अन्य निकायले गरेको अनुसन्धान र सर्भे रिपोर्टले पनि अधिकांश खेतबारीको माटोको गुणस्तर खस्किँदै गएको औंल्याएका छन् । प्रांगारिक पदार्थ अर्थात वनस्पतिजन्य पदार्थ घटिसकेपछि यसलाई सामान्य अवस्थामा ल्याउन त्यति सहज छैन, जसका लागि गोठेमललगायत प्रांगारिक पदार्थका स्रोतको प्रयोग बढाउँदै जानुपर्ने हुन्छ । यस्तो पदार्थको कमीले माटोमा अम्लीयपन, कडापन र सुखापन बढ्न गई त्यहाँ लगाइने बोट, बिरुवाले भएको मलजल पनि सोसेर लिन नसक्ने अवस्था आउँछ । बायोचारले यिनै समस्या हटाउन टेवा पु¥याउने हुनाले यसको प्रयोगलाई प्रोत्साहन गर्नु किसानको हितमा हुन्छ ।
बायोचारले कसरी काम गर्छ  ?
वनस्पतिजन्य पदार्थको कोषमा रहेको तरल पदार्थलाई पोलेर ख¥याएपछि त्यहाँ खाली प्वाल बाँकी रहन्छन् । छिप्पिएको घिरौंलाको जालोमा देखिएजस्तो ती असंख्य प्वालमा माटोभित्र रहेको पानीको कोष र अन्य पोषक तŒव भरिन्छन् । बायोचारका यस्ता कणवरिपरि बिरुवाका जरा फैलिन थाल्छन् र यिनै पोषकतŒव एवं ओसिलो वातावरणले छिटो वृद्घि हुन्छन् । बायोचारका यस्ता जालीयुक्त कणले त्यहाँ प्रयोग भएको मलमा हुने पोषक तŒवलाई पनि सोसेर वा जेलेर राख्ने हुँदा मल पानीसँगै बगेर खेर जाने समस्या पनि कम हुन्छ । धेरै खडेरी र सुक्खा परेको बेलामा बायोचारयुक्त माटोमा बिरुवाले ओस र खाद्यतŒव पाइरहने हुनाले अन्यत्रभन्दा बिरुवा बाँच्ने सम्भावना बढी हुन्छ । जलवायु परिवर्तनको असरले यिनै समस्या बढाइरहेको सन्दर्भमा बायोचार कृषि क्षेत्रका लागि एउटा गतिलो अनुकूलन प्रविधि सावित हुनसक्छ । बायोचार कणिकाका प्वाल सूक्ष्मजीवीका लागि उपयुक्त आश्रयस्थल बन्ने हुँदा खडेरीजन्य घटनाबाट माटोको उर्वरापन जोगाउन र बिरुवाको छिटो वृद्घिका लागि पनि उत्तिकै प्रभावकारी मानिन्छ ।
बायोचार कसरी बनाइन्छ ?
खुला हावामा झारपात आदि जैविक पदार्थ पोल्दा डढेर खरानी बन्ने हुनाले विशेष तरिकाको चुलोबाट मात्र बायोचार बनाउन सकिन्छ । काठमाडौं विश्वविद्यालयलगायत केही संस्थाले घरेलु प्रयोजनका लागि डिजाइन गरेर तयार पारेको चुलोबाट एकपटकमा दुईदेखि पाँच किलोसम्म बायोचार बनाउन सकिन्छ । बायोचार बनाउँदा खपत हुने इन्धनबाट गाई, भैंसीलाई कुँडो बनाउन, पानी तताउन वा खानासमेत पकाउन सकिन्छ ।
हालसम्म विभिन्न सात जिल्लाका किसानले यस्तो चुलोबाट बायोचार बनाएर आफ्नो करेसाबारीमा प्रयोग गरेका छन् । उनीहरूको प्रतिक्रिया उत्साहजनक भएको हुनाले जिल्लाका अरू किसान र संघसंस्थाले पनि यसलाई आफ्ना कार्यक्रममा समावेश गरिरहेका छन् ।
बायोचार बनाउँदा प्रयोग गरिने भुस, झारपात, काठको धुलो आदि उपयोगी प्रयोजनमा नआएको हुनुपर्छ । उदाहरणका लागि धान, गहुँ, कोदोको पराल आहाराका लागि उपयोग हुनाले यसलाई बायोचार बनाउन प्रयोग नगर्नु नै उचित हुन्छ । वनस्पतिजन्य फोहोर वा खेर जाने पदार्थ मात्र बायोचार बनाउन उपयोगी हुन्छ ।
निष्कर्ष
बायोचारको प्रयोगले माटो सुधारसँगै पशुपालन गर्ने किसानलाई बहुआयामिक फाइदा दिने हुँदा यसलाई प्रोत्साहन दिन जरुरी छ । बायोचारलाई औषधिको रूपमा पनि प्रयोग गर्ने गरिएकाले गुणस्तरीय बायोचार उत्पादन हुनसके यसबाट तत्कालीन र दीर्घकालीन फाइदा लिन सकिने देखिन्छ । त्यसका लागि तलका बुँदामा ध्यान दिन जरुरी छ ।
१) बायोचार आफैँमा मल होइन तर यसले माटोको मल सोसेर बिरुवालाई उपलब्ध गराउले क्षमता बढाई मल किफायत गर्न टेवा पु¥याउँछ । यो एउटा उत्प्रेरक तŒव हो ।
२) बायोचारले माटोको अम्लीयपन घटाउन, ओस बढाउन र सूक्ष्म तŒव संरक्षित गरी बिरुवाको स्वास्थ्य राम्रो गर्न उल्लेख्य योगदान गर्ने
तथ्य वैज्ञानिक अध्ययनबाट पनि पुष्टि भइसकेको छ ।
३) घर वरिपरिकै खेर जाने बस्तुबाट आर्थिक, वातावरणीय र दिगो कृषिको लाभ उठाउन सकिन्छ ।
४) यी सबै फाइदाका लागि सर्वप्रथम बायोचार चुलो घरघरमा प्रयोगमा ल्याउनु जरुरी छ ।
(दाहाल नेपालमा बायोचारको सम्भावना र उपयोग सम्बन्धमा विद्यावारिधि शोधकर्ता हुन् ।)
Published  on Haka Haki Magazine on ( January 28, 2016)

Download the link here